शब्द/तस्बिरः जीवन लामा
लकडाउनको ३५ औं दिन । यस अवधिमा लकडाउनकै रिपोर्टिङमा व्यस्त रहे । दोलखाको अधिकांश पालिकामा पुगें । सबैको मन मस्तिकमा लकडाउन नै भरिएको छ । कोरोना भाइरसकै कुरा जताततै । हुन त समय यसकै छ । सबैलाई जानकारी भएकै विषयमा कुरा गर्दा छुट्टै स्वाद आउछ । के गाउँ, के शहर सबैतिर कोरोनाकै कुरा ।
भ्रमण वर्षलाई समेत ओझेलमा पारी विश्वलाईनै चुनौती दिएको छ कोरोनाले । महामारीको रुपमा फैलिएको कोरानाले विश्वको अर्थतन्त्र धरासायी बनाएको छ । लाखौ मान्छेको मृत्यु भएको छ । यस्तो अवस्थामा खासै अरु विषयमा लेख्ने र पढ्ने कुरा पनि भएन । लकडाउनको केही समय त यसै विषयको सेरोफेरोमा केन्द्रित रही रिपोर्टिङ अध्ययन गरे । तर विस्तार विस्तार कोरोनाले मान्छेको सोच्ने क्षमतामै परिवर्तन ल्याउन थाल्यो । टेलिभिजन, पत्रपत्रिका, रेडियो, अनलाईन, सामाजिक सञ्जाल, चिया गफ सबैतिर कोरोनाको मात्र कुरा हुन थालेपछि मानसिक तनाव बढ्न थाल्यो ।
मान्छेलाई एउटै विषयले च्याप्न थालेपछि एकोहोरो बन्न थाल्दोरहेछ । सोच्ने विषयनै केही नहुँदो रहेछ । यस्तो अवस्थामा अरु विषयले ठाउँ नपाएमा मानसिक रोगी बन्न पनि बेर छैन । केही दिन भयो फरक विषयमा फोटोग्राफी र रिपोर्टिङ गर्न थालेको । कहिले डाङडुङ्गेडाँडाको चिमाल, कहिले मकैबारीको तरकारीबारे रिपोर्टिङ ।
१४ गते बेलुकी भरतजीले फोन गर्नुभयो । क्षेत्रपा जानलाई । सोधें भरतजीलाई, उहाँले भन्नु भयो झरना क्या । केही अगाडि त्यही झरनाको भिडियो सामाजिक सञ्जालमा भाईरल भईसकेको थियो । मेरो रुची फोटोग्राफी भएकोले धेरै एङ्ल चरिकोट बसेरै सोचे । कहिले जाउँ जाउ भइरहेको बेला भरतजीको फोनले झनै मन तान्यो । जहिले पनि मलाई दोलखाको सबै ठाउँका फोटो छ भन्ने हो । तर, यही क्षेत्रपाकै फोटो भएन भने के होला भन्ने पनि लाग्न थाल्यो । १ दिनपछि जाने सल्लाह भयो तर, उता वडाअध्यक्ष रमेश अधिकारी, पुस्कर अधिकारीलगायतले जाने व्यवस्था गरेको हुनाले आजै जान कर लाग्यो ।
वैत्यश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपामा रहेको कालाघारी झरना नाम जस्तै घारीभित्रै रहेछ । सोतारको घारी छिचोल्दै आधा घण्टामा पुग्यौ । वरीपरि भीरपाखाले घेरिएको सुनसान जंगलमा एक्लै झरिरहेको थियो कालाघारी झरना । समुन्द्री सतहबाट १२ सय मिटर उचाईमा रहेको यस झरना ६० मिटर लामो छ । बस्तीबाट निकै टाढा रहेकोले निलो, स्वच्छ पानी थियो । लकडाउनकै कारण होला यहाँ अहिले सबैको पौडी खेल्ने र झरना हेर्नेको भीड लागेको छ । दिनहुँजसो सयौ मान्छेहरु यहाँ पुग्ने गरेका छन् । सडकबाट करिव आधा घण्टा ओरालो हिड्नुपर्छ । हिड्दा जतिनै पीडा भएनि त्यसपछिको आनन्द छुट्टै छ । झरनामात्र होईन, वरिपरीको वातावरण पनि सुन्दर छ । यहाँ खेतबारी, वनजंगल, खोलानाला सबै हेरिरहुँ जस्तो छ ।
यस झरनाले सबैको मन ल्योभ्याएको छ । स्थानीय सरकारको मन तानेको छ । आफ्नै आँगनमा रहेको प्राकृतिक सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनको लागि ठूलो चुनौती थपेको छ । यसको प्रवद्र्धन गर्न सकेमा क्षेत्रपा अनि गाउँपालिकाकै आर्थिक स्रोतको गतिलो पाटो बन्नेछ ।